दमौली – पूर्वाधार विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न सडकखण्डमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले सो अवधिमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो ।
कार्यालय प्रमुख रवीन्द्र तिवारीका अनुसार लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि जिल्लाको सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको छ । सडक कालोपत्रसँगै कच्ची सडक निर्माण, चौडाइ विस्तार, नाली, संरक्षण पर्खाल तथा कजवे–कल्भर्ट निर्माणका कामसमेत अघि बढाइएको उनले बताए ।
सो आर्थिक वर्षमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । कार्यालयले तीन किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यस्तै, १५ किलोमिटर सडक चौडाइ विस्तार गर्ने लक्ष्य रहेकामा १२ दशमलव ३७ किलोमिटर सडक चौडा बनाइएको छ ।
सडक पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन २१ दशमलव ५९ किलोमिटर नाली निर्माण भएको छ । नाली निर्माणको लक्ष्य २५ किलोमिटर थियो । सडक संरक्षणका लागि २१ हजार ४२७ घनमिटर पर्खाल निर्माण भएको छ भने कार्यालयले २५ हजार घनमिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखेको थियो ।
त्यसैगरी, ६० वटा कजवे तथा कल्भर्ट निर्माण गर्ने लक्ष्य रहेकामा ५६ वटा निर्माण सम्पन्न भएका छन् ।
पुल निर्माणतर्फ भने कार्यालयले लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा तीनवटा झोलुङ्गे पुल र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका छन् । दुवै प्रकारका पुल निर्माणको लक्ष्य तीन–तीन वटा थियो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ३८ किलोमिटर सडक कालोपत्र गरेको थियो । सो वर्ष एक दशमलव सात किलोमिटर कच्ची सडक, सात दशमलव चार किलोमिटर ग्राभेल सडक तथा ४२ किलोमिटर सडक चौडाइ विस्तार गरिएको थियो । त्यस्तै, ४५ दशमलव छ किलोमिटर नाली र ५३ हजार ६१३ घनमिटर पर्खाल निर्माण भएको थियो । उक्त वर्ष सातवटा कजवे–कल्भर्ट र तीनवटा सडक पुल निर्माण भएका थिए ।
कार्यालयले सडक स्तरोन्नति, चौडाइ विस्तार, नाली निर्माण तथा संरक्षण संरचनासँगै कालोपत्रको कामलाई निरन्तरता दिएको जनाएको छ । जिल्लाका सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै आवागमन सहज बनाउन आगामी वर्ष पनि सडक कालोपत्र तथा स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको कार्यालय प्रमुख तिवारीले बताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सडकतर्फ ७१ करोड ७२ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ६१ करोड ७२ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । सडक पुलतर्फ २२ करोड १६ लाख ९६ हजार रुपैयाँ विनियोजन भएकामा २१ करोड ७१ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।
झोलुङ्गे पुलतर्फ ९२ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ९२ लाख छ हजार रुपैयाँ खर्च भएको छ । सहरी विकास तथा भवनतर्फ ४० लाख रुपैयाँ विनियोजन भएकामा ३३ लाख नौ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।



