एक हजार २०० संरचना हटाइए, वीरगञ्ज सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज – वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालयले सडक सीमाभित्र रहेका बाँकी संरचना हटाएर सोमबारसम्ममा सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।

हेटौँडास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिक सडक विस्तारका क्रममा देखिएको विवाद आइतबार नै समाधान गरी सोमबारसम्ममा काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उहाँका अनुसार सडक विस्तारसँगै नापजाँचको कामसमेत एक साताभित्र पूरा गर्ने योजना छ । सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको उनले बताए ।

हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ । घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने कामसमेत तीव्र पारिएको इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाएको थियो । सडक विस्तारका लागि उत्तरतर्फ गण्डक क्षेत्र र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।

सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको संरचना हटाउने अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले बताए ।

दोस्रो चरणको अभियानअन्तर्गत बाँकी रहेका संरचना हटाउने काम अहिले तीव्र गतिमा भइरहेको र विवाद समाधानसँगै मुख्य सडक विस्तारको काम सोमबारसम्ममा टुङ्ग्याउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।