धनुषा – वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मै उक्त क्षेत्रको नाप–नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी जग्गाको कानुनी स्वामित्वबाट वञ्चित हुँदै आएका थिए । कार्यालयले लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाएर आज ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार नाप–नक्सा सम्पन्न भइसके पनि दर्ता प्रक्रिया बाँकी रहेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै प्रमाणपुर्जा वितरण गरिएको हो ।
स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित गर्न नसकेका परिवारले अब सम्पत्तिको वैधानिक मालिक बन्ने आधार पाएका छन् ।
“पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ,” प्रमुख उमेशकुमारले भने, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्न सक्छ ।”
जग्गाधनी प्रमाणपुर्जा पाएसँगै स्थानीयवासीलाई आफ्नो सम्पत्तिको कारोबार, धितो राखेर कर्जा लिने तथा अन्य कानुनी प्रयोजनमा जग्गा प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।
धनुषामा सञ्चालन भइरहेको जग्गाधनी प्रमाणपुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का थप ३७५ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको प्रमुख उमेशकुमारले जानकारी दिए ।
नापी नक्सा सम्पन्न भइसके पनि दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको उनले बताए । बाँकी रहेका त्यस्ता जग्गाको समस्या पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर प्रमाणपुर्जा वितरण गर्ने तयारी कार्यालयको छ ।



