म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थललाई आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाउन थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा पुनहिल, पाउद्वार तातोपानी, रातोपानी कुण्ड र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन तथा चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर रु एक करोड ३० लाख ६६ हजार ५५५ आम्दानी गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको छ । भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन तथा चमेनागृह सञ्चालनका लागि न्यूनतम रु नौ लाख ५० हजार कायम गरी आह्वान गरिएको आय ठेक्का भने प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको छ ।
पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ्ग–तातोपानी कुण्ड असोज र कात्तिकमा सञ्चालन गर्न ठेक्का आह्वान गरिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा प्रवेश शुल्क तथा चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले रु ७१ लाख ५०० मा ठेक्का सम्झौता गरेको छ ।
यस्तै, पाउद्वार तातोपानी कुण्डको रु ५० लाख १० हजार, रातोपानी कुण्डको रु चार लाख ५०० र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि रु पाँच लाख ५५ हजार ५५५ मा ठेक्का सम्झौता भएको छ ।
गाउँपालिकाले पुनहिलका लागि रु ५२ लाख ५० हजार, पाउद्वार तातोपानीका लागि रु २७ लाख ५० हजार, रातोपानी कुण्डका लागि रु चार लाख र रुप्से झरनाको प्रवेश शुल्क सङ्कलनका लागि रु दुई लाख न्यूनतम शुल्क तोकेर ठेक्का आह्वान गरेको थियो ।
पर्यटकीयस्थलका ठेक्कामा न्यूनतम रकमभन्दा थोरै मात्र बढी कबोल गरेका व्यवसायीले अग्रिम रूपमा राजस्व जम्मा गरेकाले कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनाको क्यान्टिन सञ्चालनका लागि भने कुनै प्रस्ताव नपरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले खोप्रा क्षेत्रमा सञ्चालित होटलबाट वार्षिक व्यवसाय करबापत प्रतिहोटल रु ३० हजार तथा सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहाल बिटौरी कर लिँदै आएको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायत क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा कफी पसलबाट पनि व्यवसाय कर सङ्कलन हुँदै आएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको गाउँपालिकाले पर्यटकीयस्थलबाट मात्रै रु एक करोड १५ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा भने रु दुई करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार यस लक्ष्यमा पर्यटकीयस्थलको आम्दानीको योगदान प्रमुख रहनेछ ।
पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति रु ५० तथा विदेशी पर्यटकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।
घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरनाका साथै विभिन्न स्थानमा रहेका तातोपानी कुण्डका कारण अन्नपूर्ण गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ तथा नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमालसमेत रहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले पर्यटकीयस्थलको पूर्वाधार विकाससँगै प्रचारप्रसार र प्रवर्द्धनलाई जोड दिएर स्थानीयवासीको जीवनस्तर सुधार तथा गाउँपालिकाको आन्तरिक राजस्व बढाउने नीति लिइएको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि रु दुई करोड ३० लाख बजेट विनियोजन गरिएको छ । उक्त योजना कार्यान्वयनको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ।



