इन्द्रजात्रा आज, हनुमानढोकामा गणेश, भैरव र कुमारीको रथयात्रा

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकासहित धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाउने परम्परा छ।

इन्द्रजात्राको प्रारम्भ भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि हुन्छ। यसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। त्यसपछि विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजासहित जात्रा आठ दिनसम्म मनाइन्छ।

शत्रु पराजयपछि विजय उत्सव मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक मान्यता छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत यसलाई लिइन्छ।

इन्द्रजात्राका लागि आवश्यक लिङ्गो तयार गर्ने प्रक्रिया पनि परम्परागत विधिअनुसार हुँदै आएको छ। तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको नाला सामुदायिक वनमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काट्ने गरिन्छ। रूख काटेपछि लिङ्गो उपत्यका भित्र्याउने साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ।

इन्द्रजात्राको मुख्य दिन आज हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पूजिने गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्र कायम रहँदा यही परम्पराअनुसार राजाले गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने गर्थे।

इन्द्रध्वजको लिङ्गो ठड्याएपछि जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गरिन्छ। जात्राको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गर्ने अर्थात् लिङ्गो ढाल्ने विधान छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार भरणी नक्षत्रको रातमा इन्द्रध्वज पातन गर्ने शास्त्रीय व्यवस्था छ। शास्त्रमा ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको उनले बताए ।
यसै अवसरमा काठमाडौं उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा समेत धार्मिक गतिविधि हुने गर्छ। भक्तजनले इन्द्रदहमा रातभर जाग्राम बसेर भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरी मेला भर्ने परम्परा छ। यस अवसरमा इन्द्रदहमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

आजै अनन्त चतुर्दशी

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ अर्थात् भगवान् विष्णुको पूजा–आराधना गर्ने भएकाले आजकै दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ। यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरी हातमा बाँध्दा वर्षभर शुभ हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद् भट्टराईका अनुसार श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नसकेकाले आजै मन्त्रन सक्ने शास्त्रीय विधान छ। अनन्त चतुर्दशीको व्रत पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

धार्मिक परम्पराअनुसार चतुर्दशीका दिन इन्द्रजात्रा मनाएपछि भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदहमा पुगेर स्नान गर्ने विधि रहेको छ।