सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी – बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका थप ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार आज बिहान १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव रहेको थियो। त्यतिबेला २५ वटा ढोका खोलिएका थिए।

दिउँसो १ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो। त्यसको एक घण्टापछि दिउँसो २ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

सप्तकोशीमा जलसतह र पानीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले कोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नदीमा पानीको बहाव बढिरहेका कारण कोशीमा माछा मार्ने तथा दाउरा सङ्कलन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ।

वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको हो।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।