निरन्तर वर्षाका कारण देशभरका यी प्रमुख राजमार्ग प्रभावित

काठमाडौँ – निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण देशका विभिन्न भाग जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बेँसीसहर–चामे सडक तथा मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डलगायत सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्गका दुई स्थानमा समेत पहिरो खसेको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ–स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ। उक्त सडकखण्ड आज बिहानदेखि बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। प्रहरी, स्थानीय तह र सडक विभागको समन्वयमा पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।

बेँसीसहर–चामे सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा पहिरो खसेपछि सडक बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको छ। वर्षा भइरहेकाले पहिरो पन्छाउन तथा भासिएको सडक मर्मत गर्न कठिनाइ भइरहेको उनले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा पहिरो खसेपछि सडक बन्द भएको हो। पहिरो पन्छाउने काम भइरहेको छ।

यसैगरी, सहस्रधारामा कालीगण्डकी नदीले सडक कटान गरेको छ। कालीगण्डकीको कटानका कारण पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सडकसमेत अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

कर्णालीका प्रमुख राजमार्ग पनि प्रभावित

यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डमा पनि यातायात प्रभावित भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर तथा सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला र मुगु जोड्ने कर्णाली राजमार्ग विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएका छन्।

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खसेपछि कर्णाली करिडोर तथा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्ग बन्द भएको छ।

सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ र्यालेमा पहिरो खसेपछि सुर्खेत–सल्यान सडकखण्ड तथा त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा पहिरो खसेपछि लुहाम–कालीमाटी सडकखण्डसमेत अवरुद्ध भएको प्रवक्ता राठौरले जानकारी दिए ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ भिग्म, जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका तथा राँकागाउँबीचको सडकखण्डमा पनि पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

मुगुको रारा छायानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्डसमेत बन्द भएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायत उपकरण पठाइएको छ। वर्षा र पहिरोको जोखिमबीच सम्भावित स्थानमा पहिरो पन्छाउने तथा सडक सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने तथा सडक भासिने क्रम जारी रहेकाले राजमार्गको अवस्था परिवर्तन हुनसक्ने भन्दै प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।