नारायणीमा खतराको तहभन्दा २ मिटर माथि जलसतह, चितवन–नवलपरासीमा उच्च जोखिम

काठमाडौँ – नारायणी नदी तथा यसका सहायक नदीहरूमा बाढीको जोखिम अत्यधिक बढेपछि बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह खतराको तह ९ मिटर पार गरी करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बाढीको जोखिम अत्यन्तै उच्च रहेको महाशाखाले जनाएको छ।

नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा पनि बहाव सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेको छ। बुढीगण्डकी र त्रिशूली नदीमा समेत जलसतह सतर्कता तह नजिक पुगेर निरन्तर बढिरहेको महाशाखाले जनाएको छ।

देवघाटको हालको नदी बहाव र उपलब्ध पूर्वानुमानका आधारमा नारायणी नदीको जलसतह आज दिउँसोसम्म निरन्तर बढ्ने अनुमान गरिएको छ। आज बिहान ११ बजेतिर जलसतह अधिकतम करिब १३ मिटरसम्म पुग्न सक्ने र साँझसम्म खतराको तहभन्दा माथि नै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

नारायणीका सहायक नदीहरूमा पनि आज दिउँसोसम्म उच्च बहाव कायम रहने भएकाले नदी तटीय क्षेत्रमा जोखिम थप बढ्ने अनुमान गरिएको छ।

उच्च बहावका कारण चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी र डुबानको जोखिम अत्यन्तै उच्च रहेको महाशाखाले जनाएको छ। नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध र संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा स्थानान्तरण हुन अनुरोध गरेको छ। नारायणी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी किनार, पुल तथा तटबन्धमा भीड नगर्नसमेत आग्रह गरिएको छ।

कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी आसपासका बासिन्दालाई पनि आज साँझसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित अधिकारीबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्न सबै नागरिकलाई आग्रह गरेको छ।