बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत तीव्र, ४६ ठाउँमा क्षति

म्याग्दी – पछिल्लो झरीसँगै आएको बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको मर्मत सुरु गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम र बेनी दुवैतर्फबाट सडक मर्मतको काम अघि बढाएको हो । आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्मको सडक मर्मत भइसकेको छ ।

कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेको आयोजना प्रमुख शर्माले जानकारी दिए । मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म तथा जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म सडक मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको उनले बताए ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण तथा मजदुर परिचालन गरिएको छ ।

असोज ११ गते कालीगण्डकीको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मतसमेत सुरु गरिने आयोजनाले जनाएको छ । पुलको पहुँचमार्ग बगेपछि सडक सम्पर्क थप प्रभावित भएको थियो ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा रहेको चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्कसमेत टुटेको छ । कोरला नाकाबाट सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाबीचको यातायात सम्पर्क विच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ र आलु बजारसम्म पठाउन समस्या भएको छ भने दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा लैजानसमेत कठिनाइ भएको छ ।

सडक अवरुद्धसँगै मुस्ताङको पर्यटकीय गतिविधिसमेत प्रभावित भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

सडक खुलाउन कटिङ, फिलिङ, डाइभर्सन र नयाँ मार्ग खोल्नेलगायतका विकल्प अपनाइएको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्‌गृह परिसरमा भने सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक रहेको स्थान कालीगण्डकीले कटान गरेपछि अहिले आयोजनाको स्वीचयार्ड नजिकबाट नदी बगिरहेको छ ।

सडक निर्माणका लागि स्वीचयार्डमा प्रयोगमा नरहेका वैकल्पिक दुईवटा टावर हटाउनुपर्ने अवस्था आएको छ । टावर हटाउनका लागि राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

सडक मर्मतका लागि आवश्यक इन्धन आपूर्तिलाई सहज बनाउने प्रयाससमेत भइरहेको उनले बताए ।