काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा भएका हत्या, आगजनी र तोडफोडका घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् । विद्यार्थीमाथि गोली चलाउनेदेखि सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा आगजनी गर्ने घटनासम्मका दोषीलाई कारबाही गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि आलोचना गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनालाई स्मरण गराउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका वर्तमान सत्तापक्षले अहिलेसम्म कति जनालाई पक्राउ गर्न सकेको भन्दै प्रश्न गरे ।
“आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले, प्रधानमन्त्रीले घाँटी सुकाई–सुकाई कराएका हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो ? कहाँ छन् आज तिनीहरू ? त्यो ७६ जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्”, शाहीले भने ।
उनले जेनजी आन्दोलनका क्रममा भएको हत्याका घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरू खुलमखुला हिँडिरहेको दाबी गर्दै सरकारले कारबाही प्रक्रिया अघि बढाउन नसकेको आरोप लगाए ।
शाहीले राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा निजी व्यक्तिका सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि अनुसन्धान अघि नबढेको भन्दै असन्तुष्टि जनाए ।
“राष्ट्रिय मानव अधिकार आयोगले सिंहदरबार जलाउने, संसद् भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने अपराधीहरूलाई कारबाही गर भनेर प्रतिवेदन बुझाएको ६ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन”, उनले भने, “अनि तपाईँ र हिजोको सरकारका बीचमा फरक के भयो त? त्यसैले काम गर्नुस्।”
शाहीले जेनजी आन्दोलनका घटनामा दोषीमाथि कारबाही गर्ने विषयलाई राजनीतिक भाषणमा मात्र सीमित नराखी अनुसन्धान र अभियोजनमार्फत निष्कर्षमा पुर्याउन सरकारलाई चुनौती दिए । सरकार परिवर्तन भए पनि जनताले न्याय पाउने विषयमा परिवर्तन देखिन नसकेको उनको आरोप थियो ।
६५ ठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न माग
शाहीले जेनजी आन्दोलनका घटनामा कारबाहीको मागसँगै विगतमा सार्वजनिक चर्चामा आएका ठूला भ्रष्टाचारका प्रकरणको अनुसन्धान गर्न पनि सरकारसँग माग गरे । उनले वाइडबडी विमान खरिद, एनसेल, फोरजी सेवा विस्तार, ३३ किलो सुन तस्करी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण र क्यान्टोन्मेन्ट घोटालालगायत ६५ वटा ठूला भ्रष्टाचारका काण्डको छानबिन गर्नुपर्ने बताए ।
उनले विगतका सरकारका पालामा उठेका भ्रष्टाचारका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्वले विगतमा गरेका प्रतिबद्धता व्यवहारमा उतार्न नसके सरकार र अघिल्लो सरकारबीचको भिन्नता जनताले कसरी अनुभूति गर्ने भन्ने प्रश्नसमेत उनले उठाए ।
शाहीको सम्बोधनको मुख्य जोड जेनजी आन्दोलनका क्रममा भएका हत्या तथा आगजनीका घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही र विगतका ठूला भ्रष्टाचार प्रकरणको छानबिनमा थियो । उनले सरकारलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर परिणाम देखिने गरी काम गर्न आग्रह गरे ।



