नेपालगञ्ज – दसैँ पर्व नजिकिँदै गएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको चाप नेपालगञ्जस्थित जमुनाह नाकामा ह्वात्तै बढेको छ। पछिल्ला दिनमा बिहानदेखि साँझसम्मै भारतबाट दसैँ मनाउन घर फर्किने नेपालीको लर्को लाग्न थालेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार पछिल्लो पाँच दिनमा मात्रै जमुनाह नाका हुँदै ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। दैनिक १० हजारभन्दा बढी नेपाली यही नाकाबाट नेपाल प्रवेश गरिरहेको उनले जानकारी दिए ।
“अहिले बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीहरूको लर्को लागिरहेको छ, प्रत्येक दिन १० हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गर्नुभएको छ,” प्रहरी निरीक्षक भट्टराईले भने ।
भारतका नयाँ दिल्ली, मुम्बई तथा हिमाञ्चल प्रदेशका विभिन्न सहरमा रोजगारीका लागि पुगेका नेपालीहरू दसैँ मनाउन अहिले ठूलो सङ्ख्यामा घर फर्किरहेका छन्। चाडपर्वका बेला सीमावर्ती क्षेत्रमा यात्रु ठगी, लुटपाट तथा अन्य आपराधिक घटना हुनसक्ने भएकाले नेपाल प्रहरीले सुरक्षा र समन्वयलाई प्राथमिकता दिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन फर्किने नेपाली नागरिक सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने वा अलपत्र पर्ने अवस्था आउन नदिन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
“नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।”
भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने भएकाले उनीहरूको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उनले बताए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए। भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उनकाे भनाइ छ।
जमुनाह नाकामा बढेको यात्रुको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा समेत मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।
दसैँ नजिकिँदै गर्दा भारतबाट फर्किने नेपालीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। यात्रुको बढ्दो चापसँगै सीमावर्ती क्षेत्रमा हुनसक्ने ठगी, लुटपाट तथा अन्य जोखिम नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र समन्वयलाई थप सक्रिय बनाएका छन्।



