चितवन – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्ने कार्य गर्नुपर्ने भएपछि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोक्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार आकाशे पुलमा यात्रु आवतजावत गर्ने भागको गर्डर राख्ने कामका लागि सडक बन्द गर्न लागिएको हो । निर्माण कार्यका क्रममा सम्भावित जोखिम न्यूनीकरण तथा सुरक्षित रूपमा काम सम्पन्न गर्न सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको उनले जानकारी दिए।
निर्धारित समयमा मलेखु–मुग्लिङ सडकखण्ड भएर सञ्चालन हुने निजी तथा सार्वजनिक सबै प्रकारका सवारीसाधन रोक्ने आयोजनाले जनाएको छ । सडक बन्द हुने समयमा उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा तालिका सोहीअनुसार मिलाउनसमेत आग्रह गरिएको छ ।
आयोजनाले सडक बन्द रहेको अवधिमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
निर्माण कार्यका कारण यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ ।



