पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको सूचना

काठमाडौँ, फागुन १९ गते । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ ।

धर्मशालाले नक्सा पासविना नै संरचना निर्माण गरेकोसमेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण गरिएका संरचना, सम्झौताविपरीतका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।