बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिदै प्राधिकरण

काठमाडौँ, फागुन २१ गते । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा छलफल गरेको छ । प्राधिकरणले बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग सो मस्योदाको विषयमा शुक्रबार छलफल गरको हो ।

नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समेत छलफल गरी सुझावहरू संकलन गरिएको छ । सो आधारमा मस्यौदालाई अन्तिम रूप दिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागतरूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गर्नुभयो । अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरूको आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने बताउनुभयो ।

बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ” अध्यक्ष सिलवालले भन्नुभयो, “नेपालका बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपालमा बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।”

“वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्ने अध्यक्ष सिलवालको भनाई छ । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । अध्यक्ष सिलवालले बीमा व्यवसायको विकास एवम् विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिनुभयो ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावली, २०७९ को मस्यौदाको प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नियमावलीमा नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न पाउने सरल व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपालमा काम गर्ने विदेशी बीमा सर्भेयर र ब्रोकर सम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा प्राधिकरणका संचालक समितिका सदस्यहरू, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक पूजन ढंगेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गर्नुभएको थियो ।