शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर

काठमाडौं, फागुन २१ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारकालाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताउनुभयो ।

उहाँले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरूबीच मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा सहमति जुटिसकेको बताउनुभयो ।

’केन्द्रमा पनि गठबन्धन छ । यसको प्रभाव तलसम्म पर्छ । गठबन्धन भएकाले पछि दलहरूबीच सत्ता आलोपालो होला । तत्काल कमलबहादुर शाहजीलाई विश्वासको मत दिन माओवादी सहमत भएको छ,’ उहाँले भन्नुभयो । शाहले विश्वासको मत नपाए सुदूरपश्चिममा राजनीतिक अस्थिरता निम्तिने र त्यो कुनै पनि दलका लागि हितकर नहुने महरको भनाइ छ।

’अहिले निर्वाचन अघिकै गठबन्धन व्युतिएको छ । जनताको म्यान्डेट पनि त्यही थियो । हामीले चुनावको समयमा यही गठबन्धनले मुलुकमा समृद्धि ल्याउँछ भनेका थियौं। विकास विरोधीहरूले बीचमा खेल्न खोजे पनि असफल भए । फेरि पुरानै गठबन्धनसहित केही नयाँ शक्ति एक ठाउँमा उभिएका छौं । अब मिलेर जानुको विकल्प छैन,’ महर भन्नुहुन्छ ।

यसअघि माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाउँदै आएको थियो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा आफूहरू नरहेको बताउनुभएको थियो । उहाँले आलोपालो सरकारका लागि कांग्रेससँग लिखित प्रतिबद्धता माग गर्दै आउनेभएको थियो । तर, केन्द्रको सहमति अनुसार माओवादी शाहलाई विश्वासको मत दिन तयार भएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । सोही बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

एमालेका रावलले विश्वासको मत नपाएर राजीनामा दिएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त हुनुभएको थियो ।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि सुदूरपश्चिममा २७ मत आवश्यक हुन्छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा काँग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। माओवादीका ११ प्रदेश सभा सदस्य छन्। एक जना स्वतन्त्र सांसदको पनि शाह नेतृत्वको सरकारलाई नै साथ छ ।