गणेश भट्टको लोभलाग्दो सफलता

काठमाडौं, फागुन २१ गते । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा जन्मिनुभएका गणेश भट्टको बाल्यकाल उतै वित्यो । एसएलसीसम्मको अध्ययन गाउँपालिकामै गर्नुभएका भट्ट उच्च शिक्षा अध्ययनका लागि २०६९ मा धनगढी झर्नुभयो र सरस्वति मावि गेटामा भर्ना हुनुभयो । पछि उहाँ सुदूरपश्चिमाञ्जल क्याम्पसमा भर्ना हुनुभयो । त्यहाँ पढ्दै गर्दा उहाँलाई धनगढीमा बस्न मन लागेन । र, गणेश भट्ट २०७२ सालमा सपनको सहर काठमाडौं छिर्नुभयो । यहाँ उहाँले कोटेश्वर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गर्नुभयो ।

काठमाडौं आउँदै गर्दा भट्ट रित्तो हुनुहुन्थो । तर, उहाँसँग सपनाका चाङ भने थुप्रै थिए । उहाँ मोडलिङ गर्न चाहानुहुन्थो । त्यससँगै उद्यमशीलता र समाजसेवा पनि । तर, चिनेजानेका कोहिँ छैनन् । गोजी रित्तो छ । आफ्नो सपनालाई कसरी पुरा गर्ने भन्ने चिन्ताले उहाँलाई सताइरहन्थ्यो। मध्यम वर्गीय परिवारका भट्टले सहज जीवनयापनका लागि थुप्रै ठाउँमा काम जोज्नुभयो । धेरै ठाउँमा त काम पनि गर्नुभयो । अपेक्षित जीवनयात्रा नचलेपछि भट्टले विचमा विदेश पलायन हुने सोच नबनाएका पनि होइनन् ।

तर, आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने भावनाले उहाँलाई सधैँ प्रेरित गरिरह्यो । त्यसैले बेला–बेला उहाँको विदेश जाने सोच पनि त्यसै मरेर जान्थ्यो । कोरोनाकालको लकडाउनले पनि उहाँको विदेश जाने सोचलाई केही हदसम्म रोक्यो । सोही समयमा उहाँ घर फर्किनुभयो । काठमाडौंमा काम गरेर अध्ययन गरिरहेका भट्टलाई गाउँमा समय विताउन निकै सकस भइरहेको थियो । कोरोना महामारीको त्रास अलि कम भएपछि उहाँ पुनः काठमाडौं फर्किनुभयो ।

अरुसँग पैसा मागेर उहाँ काठमाडौं त आए तर कोरोनाकालको लामो समयदेखिको कोठाभाँडा तिर्न बाँकी थियो । उहाँलाई अब कोठाभाँडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । साथीभाइहरूसँग सरसहयोग माग्दै उहाँले त्यो गर्जो त टार्नुभयो । अब साथीभाइहरूलाई तिर्ने पैसाले पिरोल्न थाल्यो ।

फेरि उहाँ कामको खोजीमा भौतारिनुभयो । र, लामो संघर्षपछि काम पाउनुभयो । उहाँलाई साथीभाइहरूसँग चिनजान गर्ने भोक थियो । सम्बन्ध बनाउने रहर थियो। काम गर्दै उनले आफ्नो मोड्लिङ गर्ने सपनालाई पुरा गर्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको साधिन्यता बढाउनुभयो । यही यात्राका क्रममा २०७७ सालमा उहाँले पहिलो पटक दसैं गीत बिरानो ठाउँमा भन्ने बोलको गितमा अभिनय गर्ने अवसर पाउनुभयो ।

पहिलो अभिनयलाई दर्शकले रुचाइदिए । उहाँमा पनि म केही गर्नसक्छु भन्ने आत्मविश्वास बढ्दै गयो । त्यसपछि उहाँ गीत निर्माता र निर्देशकको नजरमा पर्दै जानुभयो । अहिले उहाँले दर्जनौं गीतमा अभिनय गरिसक्नुभएको छ ।

’मलाई अभिनय गर्ने रहर सानैदेखि थियो । तर, अहिले आएर यो सपना पुरा हुँदै गएको छ,’ २५ वर्षीय भट्ट भन्नुहुन्छ, उहाँले आफूले यस क्षेत्रमा उत्कृष्टता हासिल गर्दै जाने बताउनुभयो । उहाँको निरन्तरको संघर्षकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट २०७९ वर्षको ’रारा म्युजिक अवार्ड’ जित्नुभयो । जसलाई सांगीतिक क्षेत्रमा उत्कृष्ट अवार्डका रुपमा लिइन्छ।

त्यसपछि उहाँले उत्कृष्ठ अभिनय गरेवापत चौथो एपिक नेपाल म्युजिक अवार्ड २०‍७९ को नोमिनेसनमा पर्नुभयो । यसले उहाँलाई ख्यातिप्राप्त कलाकारहरूसँग चिनजान गर्ने मौका पनि दियो । यसलाई भट्ट आफ्नो अभिनय जीवनको कोशेढुंगाका रूपमा लिनुहुन्छ ।

’छोटो समयमा नै यसरी अवार्डेड हुँदा खुसी लागेको छ । यसले आगामी दिनमा अझैँ राम्रो गर्नसक्छु भन्ने आत्मविश्वास बढेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, अहिले त मैले नृत्य र अभिनय कलाश पनि लिन थालेको छु । मेरो मनमा अभिनयप्रति रुची थियो । यसमा लाग्न मैले ठूलो संघर्ष गर्न प¥यो । तर, दत्तचित्त भएर आफ्नो कर्ममा लाग्ने हो भने एक दिन सफल भइन्छ भन्ने आत्मविश्वास बढेको छ । अरु युवाहरूलाई पनि म सफलता प्राप्तिका लागि आफ्नो उदेश्यबाट विचलित नहुन आग्रह गर्छु।’

भट्टसँग अभिनयमात्र नभएर व्यापार व्यवसायसँगको अनुभव पनि छ । उहाँले आगामी दिनमा पनि अभिनय यात्रालाई नै निरन्तरता दिने बताउनुभएको छ । ’म उद्यमशीलताका साथ अभिनयमा केन्द्रित रहने छु । सफलता प्राप्तिका लागि ठूलो संघर्ष गर्नुपर्छ भन्ने मलाई थाहा छ । सधैँ यही मर्मभित्र रहेर काम र अभिनय यात्रालाई अगाडि बढाउने छु,’ उहाँले भन्नुभयो ।