कामै नगरी बुझ्छन् कर्मचारी तलाब

सुर्खेत, माघ १२ गते । जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआएरै तलबभत्ता लिएको पाईएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो ।

जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गत २९ मंसिरदेखि कार्यालयमा हाजिरी भएका छैनन् । उहाँ अध्ययनका लागि दुई महिनादेखि काठमाडौँमा बस्नुभएको छ । काठमाडौँमै बसेर पनि उहाँले नियमित तलबभत्ता पाईरहनुभएको छ । गएको साउन महिनादेखि अहिलेसम्म गाउँपालिकामा हाजिर हुनभएको छैन । पछिल्लो पटक मंसिरमा स्वास्थ्य कार्यालय आएर उहाँले हाजिर गरेर जानुभएको स्वास्थ्यकर्मीहरू बताउनुहुन्छ ।

मंसिरपछि उहाँ पुनः कार्यालय फर्किनु भएको छैनन् । हाजिरी रजिष्ट्ररमा मंसिर २९ गतेसम्मको हाजिर गरेको देखिन्छ । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलबभत्ता दिईरहेको छ । कार्यालयले हाजिर प्रमाणित गरेर तलब निकासा गरेको छ । स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिको खल्टीमा जानेसमेत आरोप लगाएका छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको हुनसक्ने जनप्रतिनिधिको आरोप छ ।

त्यस्तै गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा बस्दै आएका छन् । दुबै जना अध्ययनका लागि सुर्खेत झरेका हुन् । दुबै जनालाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिरी भएका छैनन् । हाजिर नभएपनि पनि नियमित रुपमा तलाब लिँदै आएका छन् ।

सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेतमै बस्नुहुन्छ । उहाँलाईलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको स्थानीय बताउछन् । सुर्खेत बसेर स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित तलबभत्ता लिईरहनुभएको गाउँपालिकास्रोतले जनाएको छ ।

उहाँहरु त केही प्रतिनिधि पात्र मात्रै हुन् । गाउँपालिकाका अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगाएका सहरमा बस्दै आएका छन् । अध्ययन गर्न सहर पसेका कर्मचारीले नियमित तलाब पाईरहेको देखिन्छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारी हुन् । ती कर्मचारीले वर्षको दुइदेखि चारपटक मात्र कार्यालयमा पुग्ने गरेको स्थानीयका गुनासो छ ।

पालिकामा २२ वटा स्वास्थ्य संस्थाहरूमा ६६ जना करार स्वास्थ्यकर्मी कार्यरत छन् । ती कर्मचारीमध्ये दर्जनाँै कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेका हुन् ।

गाउँमै भएका कर्मचारीसमेत नियमित कार्यालय गएका छैनन् । नियमित कार्यालयमा नजाने कार्मचारीलाई गाउँपालिकाले सेवासुविधा दिदै आएको जनप्रतिनिधिहरूनै स्वीकार गर्छन् ।

त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनै पनि कर्मचारी विदामा वा सहरमा गएर नबसेको दाबी गर्नुभएको छ । केही कर्मचा काजमा अन्यत्र गएपनि अध्ययन र बिदामा कुनै कर्मचारी नगएको उहाँले बताउनुभयो । उहाँ आफै गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा हुनुहुन्छ ।

अहिले स्वास्थ्य शाखा सहसंयोजक योज्ञेश्वर बस्नेतले कार्यालयको सबै काम हेर्दै अनुभएको छ । उहाँ अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरू उपस्थित भए÷नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयबहादुर बस्नेत, वडा ३ का वडा अध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताउनुभयो । जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उहाँको गुनासो छ ।