हिउँ पन्छाएपछि संचालनमा आयो जुम्ला विमानस्थल

जुम्ला, माघ १२ गते । हिउँ पन्छाएपछि जुम्लाको हवाई सेवा पुनः संचालनमा आएको छ । मङ्गलबारदेखि अवरुद्ध जुम्ला विमानस्थल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले हिउँ पन्छाएपछि पुनः संचालनमा आएको हो ।

गएको मङ्गलबारदेखि परेको हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको थियो ।

दुई दिनको हिमपातले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लामा आजबाट हवाई सेवा सञ्चालनमा आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

हवाई सेवा बन्द हुँदा जुम्ला आउने यात्रु नेपालगञ्जमै अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द छ ।