खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री

काठमाडौँ, फागुन २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभयो ।

मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ ।

जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ । यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ।

उहाँले ‘खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको’ भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो ।