राष्ट्रपति निर्वाचनको मतदानको मतगणना सुरु

काठमाडौँ, फागुन २५ गते । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आज साझ ७ बजेभन्दा अघी नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

३१३ सङ्घीय सांसद र ५१८ गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये जम्मा ५१८ जनाले मतदान गरेका छन् ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।