बहराइनका समकक्षी मुसलामसँग सभामुख घिमिरेको शिष्टाचार भेटवार्ता

काठमाडौँ, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गर्नुभएको हो ।

सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिनुभयो । उहाँले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उहाँको भनाइ थियो । सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराउनुभयो ।

सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए दिनुभयो । जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिनुभयो ।