घट्दै चिसो, बढ्दै पर्यटक

काठमाडौँ, चैत ५ गते । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिनुभयो ।

“चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उहाँले भन्नुभयो, “फागुनको २३, २४ गतेतिर हिमपात भएपछि पर्यटक हिउँमा रमाउनका लागि पनि आउने गरेका छन् ।” मुस्ताङको यात्रा तय गरेका पर्यटक कतिपय मुक्तिनाथसम्म पुग्ने गर्दछन् भने कतिपय नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन् । भौगालिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक पर्यटनसँगै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो । यहाँको भौगोलिक विविधताले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।

विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको अर्का स्थानीय रामकुमार थकालीले बताउनुभयो । पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् ।

उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।

चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थी आउने क्रम बढिरहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले पनि जानकारी दिनुभयो । स्वदेशी दर्शनार्थीसँगै भारतीय दर्शनार्थी पनि मुक्तिनाथ आउन थालेको बताउँदै उहाँले आगामी दिनमा उक्त सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्ला समयमा यहाँका स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारमा लैजानका लागि स्थानीय सक्रियता बढेको कुच्छप तोरङ्गा महिला लघुउद्यम समूहका अध्यक्ष श्यामु थकालीले बताउनुभयो । चिसो घटेसँगै बढ्दै गएको पर्यटकको आगमनले यहाँका स्थानीय उत्पादनको व्यापार पनि बढ्ने उहाँले बताउनुभयो ।