एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं, चैत ६ गते । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उहाँले आरोप लगाउनुभयो । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उहाँको आरोप छ ।

यो पटक पनि आफूहरुको प्रयासमा वामपन्थी सहितको सरकार बनाएको भन्दै ओलीले भन्नुभयो, ‘उहाँलाई सैह्य भएन । प्रधानमन्त्री हुनुभयो, भएको भोलिपल्टबाट इमान छोड्नुभयो, बेइमानी सुरु गर्नुभयो ।’ सम्माननीय प्रधानमन्त्रीको सन्दर्भमा यसो भन्नु ठीक नहुने भन्दै उहाँ आफैंले भन्नुभयो,‘इमानमा रहन सक्नु भएन । दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उहाँको दाबी छ । अहिले पनि कसैको बढुवा गर्नुपर्यो भने आफ्नो (केपी ओली) नजिक हुनुहुँदोरहेछ भनेर नातावाद, कृपावादको मानसिकता देखाउने गरेको उहाँको आरोप छ । प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने, अर्थतन्त्रलाई ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने काम गर्ने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको ओलीको आरोप छ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैहुनुहुन्छ । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाउनुभएको थियो ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।