मर्चवारी गाउँपालिका पूर्वअध्यक्षकाे ९१ लाख भन्दाबढिकाे सम्पत्ति स्रोत नखुलेको ठहर

काठमाडौं, चैत ९ गते । रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उहाँको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको बनियाँ ९ वेशाख २०७९ सम्म पदमा हुनुहुन्थो । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए वापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ ।

यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ । यसमा छोराहरुको अध्ययनमा गरेको खर्चदेखि घर निर्माण खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दात समेत समावेश छ ।

बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ । साथै बनियाका छोरा पंकज कान्दुको नाममा खरिद गरिएको जग्गा साथै घर, सवारी साधनका साथै बैंकहरुमा समेत रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ ।