तस्विरमा भूकम्प सुरक्षा कृत्रिम अभ्यास

काठमाडौँ, माघ २ गते । भूकम्प एवं दैवीप्रकोपको समयमा गर्नुपर्ने सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा आज यहाँ ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरी जनचेतना जागृत गराइएको छ ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेनाको भैरव दल गण थलहा मोरङ, सशस्त्र, नेपाल प्रहरी र विराटनगर महानगरपालिकद्वारा संयुक्त रुपमा २५औँ भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा विराटनगर–२ स्थित खुल्ला मैदानमा ‘कृत्रिम घटना अभ्सास’ गरिएको हो । जसमा भूकम्प आउँदा मानिसको जीवन रक्षा, आगलागीमा जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी एवं उनीहरुको उद्धार र उपचारमा प्रयोग गरिने विभिन्न सामग्रीको प्रयोगको प्रदर्शन गरिएको थियो ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले संयुक्त रुपमा अभ्यासका क्रममा तीनतले घरमा रहेका घाइते, भूकम्पको घरबाट थिचिएका मानिस र आगोबाट उद्धार गरी उपचारका लागि पु¥याउने लगायतका कृत्रिम अभ्यास देखाइएको थियो ।

सो अवसरमा नेपाली सेनाले उद्धारका बेला प्रयोग गरिने विभिन्न औजार, जीवनरक्षक ज्याकेट, मोटरबोट लगायतका सामग्रीको प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव उमेश बस्नेत, कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाली सेना थलहाका प्रमुख सेनानी अमृतबहादुर थापा मगर लगायतले उद्धार कार्यक्रम अवलोकन एवं निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको थियो ।