घटनामा संलग्नलाई तत्काल कारबाही हुनुपर्छ : मेयर श्रेष्ठ

सिरहा, चैत १५ गते । गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ । गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।

तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी मेयर श्रेष्ठले दिनुभएको छ । पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘ प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गरोस भन्नेमा हामी छौं, हामी आजै नै उनीहरु बिरुद्ध उजुरी दर्ता गराउँदै छौं ।’

मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हु, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’

मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मोविल खन्याएका थिए । सो घटनापछि आज विहान नेकपा एमालेका कार्यकर्ताले नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्गको गोलबजारमा सडक अवरुद्ध गरेका छन् । प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ।