विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्दै सुन्दरबजार नगरपालिका

लमजुङ, चैत १९ गते । लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । आयआर्जनका स्रोत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर आर्थिक सहायताका लागि नगरपालिकामा धाउनेको संख्या बढ्दो बढेको अवस्थामा उनीहरुलाई उपचारका लागि पाँच/दश हजार रुपैयाँ दिनुको सट्टा बीमा रकम नगरपालिका आफैँले व्यहोरेर उनीहरुलाई स्वास्थ्य सेवा लिन सहज बनाउने हेतुका साथ नगर कार्यपालिका बैठकमा छलफल र बहसपछि यस्तो निर्णय गरेको हो ।

नगर क्षेत्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत परिवारमा रहेका पाँचजनाको स्वास्थ्य बीमा वापतको रकम ३ हजार ५०० नगरपालिका आफैँले तिरिदिनेछ । स्वास्थ्य बीमा पश्चात प्रति घरधुरीका पाँच जनासम्म सदस्यले वर्षमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने भएपछि यसै आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि निवेदन दिनेको संख्या बढेको छ । यसलाई मध्यनजर गरेर सो रकममा अझै थप गरिने नगर प्रमुख कोइरालाको भनाइ छ । आगामी आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि थप रकमको व्यवस्था गरिनेछ ।

यसका लागि अहिले आवेदन संकलन भइरहेको छ । प्राप्त आवेदनलाई छानबिन गरी अति विपन्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा वापतको रकम नगरपालिका आफेँले बेहोर्ने नगरप्रमुख कोइरालाले बताउनुभयो । आफूले नगर प्रमुख भए लगत्तै स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका नगर प्रमुख कोइरालाले यस किसिमको कार्यक्रमले नगरपालिका भित्रका विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार नगरपालिकामा अति गरिब घरधुरी संख्या २२९, मध्यम गरिब २६३ र सामान्य गरिब घरधुरी संख्या १ सय ७२ रहेका छन् । तिनीहरु मध्ये गरिव परिवारलाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । आवश्यकताअनुसार यस रकम बढाउन सकिने र कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षहरुमा यस कार्यक्रमको बजेटलाई झै बढाइने उहाँले बताउनुभयो ।