रविले नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौं, चैत १९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ । यद्यपि दर्ता भएको छैन ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको जनाएको छ । प्रवक्ता बिमल पौडेलले भन्नुभयो, ‘रिट आइपुगेको छ, ‘अध्ययनपछि केही सच्याउनपर्ने भएकाले उहाँ (युवराज सफल) ले लिएर जानु भएको छ ।’

रिट निवेदक युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताएको छ । रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।

त्यस्तै रविले अमेरिकी नागरिक हुँदैमा नेपालको राहदानी कुन कुन समयमा के के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन पनि माग गरिएको छ ।