गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, चैत २४ गते । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उहाँविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उहाँविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।