वादी समुदायका घर टहरा भत्काएकामा विरोध

कैलाली, वैशाख २० गते । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित सडक छेउमा बस्दै आएका वादी समुदायको घरटहरा भत्काइएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्क नेपालले विरोध जनाएको छ ।

नेटवर्कले नेपालको संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितलाई जमिन र सुरक्षित आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको भए पनि महेन्द्रराज मार्गको दुवैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा सोमवार वन कार्यालयले भत्काएको घटनाले वादी समुदायको मौलिक अधिकारसमेत हनन भएको जनाएको छ ।

नेटवर्कले आज विज्ञप्ति जारी गरी जनताको मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्नु राज्यको दायित्व भएको भन्दै समस्याको विकल्पसहित सामाधान गर्नका लागि सरकारसँग माग गरेको छ ।

प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर टहरा भत्काइएको नेटवर्कको भनाइ छ ।

आफूहरु बस्ने घर टहरानै भत्काइएपछि आफूहरूको विचल्ली भएको पीडितको गुनासो छ । वादी समुदायसँग नेपाल सरकारले गरेको सम्झौताअनुसार आफूहरुको गाँस, बासको व्यवस्था गर्नुको साटो घर टहरा भत्काएर अन्याय गरेको पीडितको गुनासो छ ।