गाउँलाई समृद्ध बनाउने नीति तथा कार्यक्रम ल्याउँदैछौँ : मुख्यमन्त्री जमकट्टेल

काठमाडौँ, वैशाख २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । रासससँग कुरा गर्दै मुख्यमन्त्री उहाँले सबै मन्त्रालयहरुलाई सिलिङ उपलब्ध गराउँदै नीति कार्यक्रमसँगै बजेटको तयारी पनि सुरु गरिसकेको बताउनुभयो ।
आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।” नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरुसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उहाँको भनाइ छ ।
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गरिसकेको र उहाँहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने उहाँले जनाउनुभयो । उहाँले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएकोसमेत जनाउनुभयो ।