भाडा घट्यो लामो दूरीका सार्वजनिक यातायातको

काठमाडौं, जेठ ३ गते । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।

यस्तै, काठमाडौं–अत्तरीया–चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं–अत्तरीया–सिलगढीको २४०८, काठमाडौं–महेन्द्रनगरको १९१५, काठमाडौं–सुर्खेतको १७४०,काठमाडौं–धनकुटाको १७२७, काठमाडौं–विराटनगर १४९८ कायम भएको छ ।

त्यसैगरी महेन्द्रनगर–काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत–धरानको २४४२ रुपैयाँ र काठमाडौं–जनकपुर ९०३, भाडा रहेको छ ।

समायोजनपछिको अन्तर प्रदेशको नयाँ गाडी भाडा यस्तो छ ।