ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहिन

बाग्लुङ, जेठ ७ गते । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबारदेखि सम्पर्कविहिन हुनुभएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएको हो । ढोरपाटनका उपमेयर धनबहादुर कायतअनुसार उपमेयरलाई कार्यवाहकको पत्र थमाएर सम्पर्कविहिन हुनभएको छ ।

उहाँले भन्नुभयो, ‘शुक्रबार म कार्यक्रम भएकाले कार्यालय गएको थिएन, आज (आइतबार)कार्यालयमा जादा ‘म नआउँदासम्म कार्यवाहक सम्हाल्नुहोला’ भनेको ५ गतेको पत्र मैले पाए । मेयरसाबसँग सम्पर्क नभएको उपमेयर कायतले बताउनुभयो ।

सहकारीको विषयमा मेयर सम्पर्कविहिन भएको वागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको भनाई छ । ‘उहाँ चाहिँ एमेज सहकारीको अध्यक्षसमेत हुनुहुन्छ, सहकारी बचत फिर्तासम्बन्धी इन्स्युमा अलिअलि तनाव छ । उहाँ सम्पर्कमा हुनुहुन्न भएन हामीले आज बिहान थाहा पाएका हौं,’ उहाँले भन्नुभयो ।

खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो । ‘बचतकर्ता तथा कर्मचारीहरुसँग छलफल गरिरहेका छौं, उहाँले भन्नुभयो, गृहमन्त्रीलाई पत्र लेखेर पठाएका छौं । प्रहरी परिचाहन भएको छ ।’

मेयर नेपालीले एक महिनाअघि विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताउनुभएको थियो । उहाँले बचतकर्तालाई धैर्य गर्न अनुरोध गर्नुभएको थियो । मेयर नेपालीलाई सम्पर्क गर्न खोज्दा उहाँको फोन अफ छ ।