समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक छ : सांसद परियार

काठमाडौँ, जेठ ८ गते । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले मुलुक समृद्ध बनाउन समाजमा भएका सबै वर्ग र समुदायको हकहित कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेता परियारले मानिसले बाँच्न पाउने कुरा सबैभन्दा ठूलो भएको उल्लेख गर्दै त्यसका लागि सबैले आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
“सबैले मिलेर मुलुकको आर्थिक क्रान्ति गर्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाजस्ता आधारभूत कुराको ग्यारेन्टी गर्नुपर्छ ।” कृषिमा आश्रितको हातमा जमिन नभएको उल्लेख गर्दै सांसद परियारले त्यस विषयमा राज्यले ध्यान दिनुपर्ने र नेपाली नागरिकलाई ‘एक घर, एक धारा’को योजना बनाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
विदेश जानेलाई स्वदेशमै राजगारीको सिर्जना गर्ने र पोखरालाई पर्यटकीय राजधानीका रुपमा व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।