कोशी प्रदेशसभा आसपासमा कडा सुरक्षा व्यवस्था, १७ पहिचान पक्षधरका प्रदर्शनकारी पक्राउ

विराटनगर, जेठ १४ गते । कोशी प्रदेश सभामा १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको उहाँको भनाई छ ।

विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाइ गरेको प्रहरी प्रवक्ता दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, सुरक्षा सतर्कता उच्च बनाइएको छ

कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।