व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गर्नुभएको छ ।
गणतन्त्र दिवस मूल समारोहद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा उहाँले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशीता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गीकार गरिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका प्रतिनिधिबाट आज मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
जनताको आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण अहिलेको व्यवस्थाको अभिष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
गणतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा प्रकट गर्नुभयो ।
प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासिल र विकसित राष्ट्रमा रुपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको जिकिर गर्दै उहाँले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “लोकतन्त्रको विकास लोकतन्त्रभित्रबाट सम्भव छ भन्ने विषय पछिल्ला दिनका कतिपय घटनाले पुष्टि गरेका छन् ।” उहाँले सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गर्नुभयो ।