बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

मकवानपुर, जेठ ३० गते । जिल्लाको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ ।

कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ । समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायीमध्येबाट एक, उद्योग वाणिज्य सङ्घको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव सङ्कलन गर्नेलगायत विभिन्न निर्णय गरेको नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिनुभयो । साथै बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० तथा व्यापार–व्यवसायसम्बन्धी कार्यविधि, २०७७ लाई संशोधनसमेत गरेको बताइएको छ ।

बैठकले नगरभित्र निर्माण हुने घरको नक्सापास कार्यविधि ल्याइने निर्णय गरेको हो । थाहा नगरपालिकाभित्र निर्माण भइसकेको र निर्माणाधीन घरको नक्सापास गर्नुपर्ने मापदण्डअनुसार निर्माण भएका भवनको निर्माणपत्र दिने र मापदण्डविपरीत निर्माण भएका घरको अभिलेखीकरण गर्ने तथा नयाँ निर्माण हुने घरलाई भवन निर्माणसम्बन्धी कार्यविधि बनाई नक्सापास भएपछि मात्र घर निर्माण गर्न आग्रहसमेत गर्ने बताइएको छ ।

त्यसैगरी घर निर्माणका लागि ‘डिपिसी’ गरेर राखेका घरको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्नेसमेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताउनुभयो ।