गोरखा नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया : बीमाशुल्कमा एकरुपता नभएको गुनासाे

काठमाडौँ, माघ १७ गते । नेपाल बीमा प्राधिकरणले गोरखा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया गरेको छ । गण्डकी प्रदेशको गोरखा जिल्लाको सो पालिकामा सोमबार बीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा गरेपछि क्षेतीको बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गर्नुभयो । उहाँले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको बताउनुभयो ।

उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको बताउनुभयो । उहाँले बीमा गराउनका लागि अनाआवश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु संचालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको बताएका छन् । कृषि बीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको र यसको समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको बताएका छन् । बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राख्नुभएको थियो ।