रुवी भ्याली गाउँपालिकाको गाउँसभामा झडप

धादिङ , असार १० गते । धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ । आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले जानकारी दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गर्नुभएको थियो । त्यस क्रममा उहाँहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गर्नुभएको थियो । त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि पनि सामान्य घाइते हुनुभएको छ ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङ पनि सामान्य घाइते हुनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुनः सुरु भएको छ ।

रुवी भ्याली गाउँपालिकामा माओवादीका रामसिङ तामाङ अध्यक्ष र नेपाली कांग्रेसकी फेलामा तामाङ उपाध्यक्ष हुनुहुन्छ । यसअघि २०७४ को स्थानीय तह चुनावमा भने यहाँ राप्रपाका उम्मेदवार निर्वाचित हुनुभएको थियो ।