नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली

बाँके, असार १९ गते ।  नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । उहाँका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिने छ ।
प्रवक्ता निरौलाले भन्नुभयो, “अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।”
नेपालगञ्ज विमानस्थलमा प्राधिकरणले थप दुई हजार पाँच सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको छ । करिब रु तीन अर्बको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ । हाल धावनमार्गको लम्बाइ एक हजार पाँच सय मिटर रहेको छ ।