बीमा कार्यक्रम प्रभावकारी भए बीमा गर्न खोजी खोजी आउँनेछन् : अध्यक्ष यादव

सिरहा, माघ १८ गते । नेपाल बीमा प्राधिकरणले सिरहाको अर्नमा गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया गरेको छ । मंगलबार प्राधिकरण र मधेश प्रदेशको आयोजनामा सो गाउँपालिकामा अन्तरक्रिया भएको हो ।,

अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुलारुपमा जानकारी दिन सकेमा बीमा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । सो कार्याक्रम प्रभावकारी भए नागरिक बीमा गर्न खोजी खोजी आउने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी भएकोपनि बताउनुभयो । न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै, उहाँले भन्नुभयो, देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बीमा गर्नुपर्ने हुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी कृषकहरुको बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको गुनासो छ । कृषि तथा पशुपन्छीको बीमा दाबी प्रक्रियाका बारेमा बीमा कम्पनीले जानकारी नदिएको उहाँहरुले दुःख व्याक्त गर्नुभयो । कम्पनीहरुले माछाको बीमा गर्न नमानेको र बीमा दावी गरेको एक वर्षसम्म पनि दाबी भुक्तानी नपाएको लगायतको उहाँहरुको गुनासा छन् ।

बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधिहरुले वास्तविक मूल्यभन्दा बढीको बीमा गर्न खोजिने गरेकाले बीमा गर्न समस्या भएको बताएका छन् । कृषि प्राविधिकको सिफारिशका आधारमा बीमा गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश प्रमुख कुसुम शर्माले गाउँपालिकाका सेवासँग आवद्ध गरेर घर, सम्पत्ति र व्यवसायको बीमालाई अनिवार्य गर्न बताउनुभएको छ । राहतभन्दा पनि नागरिकको बीमा गर्नका लागि कार्यक्रम ल्याउन गाउँपालिकासँग उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्नमा गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी साह, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरु, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिना, बीमा कम्पनीका शाखा कार्यालय प्रमुख, कृषि प्राविधिक, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, कृषक, संचारकर्मीहरु लगायत गरी करिव ११५ जनाको सहभागिता रहेको थियो ।