सीता दाहालको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि, पति प्रचण्ड र दुई छोरीले दिए दागबत्ती

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिनुभएको हो ।

दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।

यस्तै विभिन्न दलका शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सीताको निधन भएपछि बसेको मन्त्रिपरिषदको बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो । जस अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।