१५ वर्षदेखि लम्सुवाघाट पुल अझै अधुरो, खर्च चार करोड

भोजपुर, — भोजपुर र सङ्खुवासभा जिल्लालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अधुरो बनेको छ । विसं २०६७ मा सुरु गरिएको पुल निर्माण कार्य करिब चार करोड रुपैयाँ खर्चिएर अलपत्र अवस्थामा पुगेको हो ।

भोजपुर षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुङ्गाका अनुसार संघीय सरकारले करिब चार करोड रुपैयाँ खर्च गरेको छ । तर पुल निर्माण भने रोकिएको छ । “लम्सुवाघाट पुल निर्माणको काम लामो समयदेखि ठप्प छ,” उनले भने,“राज्यको करोडौं खर्च भएपछि पनि पुल अधुरो रहँदा स्थानीय निराश छन् ।”

एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि २०६७ सालमा काम थालिएको थियो । अहिले छवटा पिलरको आधार (बेस) मात्रै बनेको छ । बाँकी संरचना निर्माण नभएकाले पुल अलपत्र बनेको स्थानीयवासीले जनाएका छन् ।

स्थानीय भक्तराज विश्वकर्माका अनुसार राज्यले पुल निर्माणमा बेवास्ता गर्दा आवतजावतमा समस्या भएको छ । “हामी यही अधुरो पुल हेरेर १५ वर्ष बितायौं,” उनले भने, “पुल बन्ने आशामा बसेका स्थानीय अहिले निराश बनेका छन् । सरकार गम्भीर नहुँदा समस्या झन् बढ्दै गएको छ ।”

सम्झौताअनुसार पुल निर्माण कार्य २०७० सालमै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीले काम रोकेपछि परियोजना अधुरो रह्यो । पुल निर्माण ढिलाइको कारणबारे स्थानीयवासी अझै अन्योलमा छन् ।

स्थानीय सरकारका जनप्रतिनिधिहरूले अब संघीय सरकारले यस परियोजनालाई प्राथमिकता दिएर पुनः सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।