दुई पालिकालाई जोड्ने पक्की पुल ६ वर्षदेखि अलपत्र

रुकुम पश्चिम, माघ १८ गते । रुकुम पश्चिमका दुई पालिकालाई जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १ र बाँफीकोट गाउँपालिका वडा नम्बर १० जोड्ने सो पक्की पुलको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ६ वर्षदेखि अलपत्रै अवस्थामा छ । सो पुलको हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको छ ।

सडक डिभिजन चौरजहारीले उक्त पुलको ठेक्का खोलेको इन्जिनियर प्रज्वल सुनारले बताउनुभयो । फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उहाँको भनाई छ । ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोल्दा नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुलको ठेक्का लिएको थियो ।

निर्माणका लागि नौ करोड ६१ लाख रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो । नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्र दिएको बताउनुभयो । तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता भएको थियो , उहाँले भन्नुभयो, विभिन्न समस्याले गर्दा ढिलाइ भएको हो ।

पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ । विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।