पैसा र शक्तिको भरमा क्षेत्राधिकार मिचेको नगरप्रमुख महतोलाई आरोप

सिरहा, माघ १८ गते । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ ।

नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई वडा नं. ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक भवानीपुर प्रध गाविस ८ ‘क’ कित्ता नम्वर ८० र ४४६ को ९ कठ्ठा ७ धुर जमिनको घरबाटो सिफारिस गरेको सार्वजनिक भएको छ ।

जग्गा धनीले बाटो नै नभएको जग्गाको कृषि सडक रहेको भनि सिफारिस माग गरेपछि वडा अध्यक्षले आलटाल गरको भन्दै जग्गा धनीले पैसा र शक्तिको भरमा नगर प्रमुखबाटै सिफारिस लिन सफल भएको वडा अध्यक्षको आरोप छ ।

वडा अध्यक्षहरुले नगर प्रमुखले क्षेत्राधिकारको ख्यालै नगरी आफूहरुको अधिकारसमेत हनन् हुनेगरी सिफारिस दिएको बताएका छन् । यस विषयमा वडा अध्यक्षहरुले गत पुस २९ गते भएको हिउँदे नगरसभामा समेत कुरा उठाएका थिए । त्यसबेला नगरप्रमुखले गल्ती भएको भन्दै माफी मागेको एक वडा अध्यक्षले बताउनुभयो ।

वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साहले विवादित बाटो भएकोले साँधमा रहेका अर्को पक्षलाई पनि बोलाउन अनुरोध गरेपछि जग्गा धनीले ‘पावर’ र पैसाको बलमा मेयरबाटै सिफारिस लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जग्गा धनीकै परीवारका एक सदस्य अघिल्लो वडा अध्यक्ष हुनुहुन्थ्यो । उहाँले त्यसबेला पनि बल प्रयोग गरेर अरुको जमिनमा बाटो बनाउनु भएको थियो । अहिले पनि त्यो विवाद कायमै रहेकोले मैले दुवैजना आउनुस् भनेको मात्र थिएँ । तर, उहाँ पावर देखाउन मेयरकोमा पुगेर सिफारिस लिएछन् ।’

यता नगरप्रमुख शिवशंकर महतोले आफू कार्यालयबाट बाहिर निस्कने क्रममा गाडीमै कर्मचारीले ल्याएर हस्ताक्षर गराएकोले कागज हेर्न नपाउँदा यस्तो हुनु पुगेको बताउनुभयो । आफूले हस्ताक्षर गरेको स्वीकार्दै राम्रोसँग कागज हेर्न नपाउँदा त्यस्तो पर्न गएको उहाँको भनाई छ ।

गत माघ १४ गते धनगढीमाई नगरपािलकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ मा पनि यस विषयमा वडा अध्यक्षहरुले कुरा उठाउनुभएको थियो । आयोगका बर्दिवास प्रमुख गोपाल अधिकारीसमेतको उपस्थिति रहेको कार्यक्रममा वडा अध्यक्षहरुले यस विषयमा कुरा उठाए पनि बिनासुनुवाइ कार्यक्रम समापन गरिएको सहभागीहरु बताउँछन् ।