संस्थाको नविकरण, रेडक्रस ऐन निर्माणमा पहल

काठमाडौं, साउन ११ गते । विगत केहिँ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी विभादित बन्दै आएको छ । विभादलाई समाधान गर्दै रेडक्रसले नयाँ नेतृत्व चयन गरेको छ ।

रेडक्रस सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै रेडक्रसभित्रको समस्या समाधान गर्न रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग माग गरेको संस्थाका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेकाछौ, उहाँले भन्नुभयो, अब विगत वर्ष झै नेपाल रेडक्रस सोसाइटीमा कुनै खालकोे विभाद हुन दिन्नौ ।

संस्थाका नवनिर्वाचित महामन्त्री श्रेष्ठले रेडक्रस ऐन नबनेका कारण पनि समस्या उत्पन्न भएको भन्दै रेडक्रसको केन्द्रिय तहमा विवाद हुँदा स्थानीय तहमा काम गर्न समस्या भएको बताउनुभयो । उहाँले संस्थाको लेखा परीक्षण पनि हुन नसकेको र नेपाल रेडक्रस सोसाइटीको विधान नेपालको संविधान बमोजिम परिमार्जन नभएको बताउनुभयो ।

महामन्त्री श्रेष्ठले भने, ‘नेपाल रेडक्रस सोसाइटीको पछिल्लो विवादलाई सदाका लागि अन्त्य गर्नुपर्छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले हिजोका दिनमा देखिएका गतिरोध अन्त्य भएको कुरा यहाँहरुलाई सुनाउन चाहन्छु ।

नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखि दर्ता नविकरण गर्न सकेका छैनौं । दर्ता नविकरण नभएकाले हाम्रो विधान अनुसार स्थानीय स्तरसम्म प्रभावकारी काम गर्न सकिरहेका छैनौं । रेडक्रसभित्रका सबै साथीहरु (७६ वटै जिल्लाका प्रतिनिधिहरु) मा हाम्रो एकता छ ।

प्रदेशबाट प्रतिनिधित्व गरेर आउनुभएका प्रतिनिधिहरुबीचको विवाद छैन । रेडक्रसभित्र वैधानिक रुपले हामी एकतावद्ध छौं । निर्वाचनबाट सबैपक्षका साथीहरुको प्रतिनिधित्व छ । विवाद के हो भने रेडक्रसकर्मी र गैर रेडक्रसकर्मीबीच हो । यसलार्ई पोलीटिकल बनाउने प्रयत्न भएको हामीले महशुस गरेका छौं ।’

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले संस्थाको नविकरण, रेडक्रस कानूनको निर्माणमा पहल र साधारण सभा गरी मानवीय सेवाका गतिविधिहरूलाई अझ बढी प्रभावकारी रूपमा अघि बढाउने बताए । नेपालले रेडक्रसमा कुनैपनि विवाद नरहेको भन्दै समानान्तरको कुरा आएपनि यो शब्दको बारेमा आफूलाई जानकारी नरहेको बताए ।

नेपालले भने, ‘रेडक्रसस कानुन भयो भने संस्था सहज तरीकाले अघि बढ्न सक्छ । हामीले नेपाल रेडक्रस सोसाइटीले भदौ ८ र ९ गते साधारण सभा गर्ने भएका छौ । हामिले तत्कालै साधारण सभा गर्न खोजेका थियौं । संस्थाको आर्थिक अवस्थाको पनि चित्रण गर्नुपर्छ । साधारण सभा लगत्तै नविकरणमा लाग्छौं । दुइ वर्षे कार्यकालको मार्र्गचित्र साधारण सभाबाट पारित गर्छौं । रेडक्रसमा विवाद छैन । समानान्तरको कुरा आउँछ । हामीलाई त्यो शब्द पनि थाह छैन ।’