नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी

खोटाङ, साउन १२ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ ।

बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार–चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले आज बिहान १०ः४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको जनाइएको छ । नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाइदिनुभएको हो ।

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गर्नुभएको हो ।

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिनुहुँदै प्रक्रिया पुर्याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई सुझाव दिनुभएको छ । नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको बताइन्छ ।