रक्तसञ्चार सेवालाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ, साउन १२ गते । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ५८ आंै स्थापना दिवस आज विविध कार्यक्रमहरूको आयोजना गरी देशव्यापी रूपमा मनाइएको छ । वि.सं. २०२३ साल साउन १२ गते नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको स्थापना भएको थियो ।

दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर वस्नेतले नेपाल रेडक्रसले कोभिड र भूकम्पका समयमा पु¥याएको रक्तसञ्चार सेवालगायतका मानवीय कार्यहरूको प्रशंसा गर्दै रेडक्रसको गरिमालाई बचाउन होसियारी र सर्तकता अपनाउनु पर्ने बताउनुभयो । रक्तसञ्चार सेवालाई गुणस्तरीय र सुदृढ बनाउन आवश्यक पर्ने सहयोगका लागि नेपाल सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रक्तसञ्चार सेवाको अभियानमा सहयोग पु¥याउने रक्तदाता, रक्तदान गर्ने संघसंस्था, सरकारलगायतका सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबाट प्राप्त सुझावहरूलाई मनन गरी सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने अध्यक्ष नेपालले बताउनुभयो ।

समाज कल्याण परिषदका उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले रेडक्रसको संस्थागत विकासको लागि समन्वय, सहकार्य र सहजीकरण गर्दै अगाडि बढ्न परिषद तयार रहेको बताउनुभयो ।

समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले रक्तदाता र संघसंस्थाहरूबाट पु¥याइएको योगदानको सरहाना गर्दै नेपाल रेडक्रसको राष्ट्रिय र अन्तर्राष्ट्रिय छविलाई कायम राख्न सबैको पक्षको सहयोेग आवश्यक रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले आधुनिक चिकित्साको विकाससँगै रगत र रक्ततत्वको माग वढिरहेको अवस्थामा यसलाई परिपूर्ति गर्न बजेटसहितको राष्ट्रिय योजनाको खाँचो औल्याउनु भयो । रगतको चिकित्सकीय प्रयोगलाई व्यवस्थित बनाउने र स्रोत थप गर्नुपर्ने जस्ता चुनौतीहरू रहेको र यी चुनौतीहरूलाई नेपाल रेडक्रस सोसाइटीले चालु आर्थिक वर्षमा सम्बोधन गर्ने महामन्त्री श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रूणा झाले रक्तसञ्चार सेवा केन्द्रहरूको अवलोकन गरी सुधार गर्न आवश्यक देखिएको बताउँदै रक्तदाताहरूबाट संकलित रगतको समुचित प्रयोगको सुनिश्चिततामा जोड दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष वीरवहादुर वस्नेतले मानवीय संस्था नेपाल रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवाका लागि सहयोग पु¥याउने व्यक्ति र संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले सोसाइटीले आफ्नो स्थापना कालदेखि नै रगत व्यवस्थानका लागि सरकारबाट प्राप्त जिम्मवेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको बताउनुभयो । रक्तसञ्चार सेवालाई आजको अवस्थामा ल्याइ पुरयाउन स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूको अहम भूमिका रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
ब्लड डोनर्श एशोसियसन नेपालका अध्यक्ष सानुबाबु प्रजापतिले एशोसियनको निःशुल्क रगत उपलब्ध गराउने अभियानमा नगरपालिका र पालिकाहरूबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउँदै नेपाल रेडक्रस र एशोसियसन बिच सहकार्य गरी रक्तसञ्चार सेवालाई अझ बढी प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

केन्द्रीय रक्तसञ्चार सेवाको वार्षिक प्रतिवेदन समीक्षात्मक रूपमा प्रस्तुुत गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गत एक वर्षमा नेपाल रेडक्रस सोसाइटीका देशभरका रक्तसञ्चार केन्द्रहरूबाट दुई लाख ८१ हजार तीन सय १६ युनिट रगत संकलन गरी रगत र रक्ततत्वसहित तीन लाख ९१ हजार आठ सय ५३ युनिट विरामीलाई उपलब्ध गराउन सोसाइटी सक्षम भएको बताउनुभयो ।

उहाँले देशका ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाईहरू क्रियाशिल रहेको जानकारी गराउनुभयो । रगतको सहज आपूर्तिका लागि जनसाधारणलाई रक्तदानको महत्व बुझाउनु पर्नेमा जोड दिदै रक्तदातालाई थप उत्प्रेरित गर्नु आवश्यक रहेको कार्यकारी निर्देशक ढकालले बताउनुभयो ।

कार्यक्रममा रक्तसञ्चार सेवालाई सहयोग पु¥याउने व्यक्ति, उत्कृष्ट संकलक संस्थाहरूलगायतलाई दिवसका अवसरमा सम्मानित गरिएको थियो । सो अवसरमा नेपाल रेडक्रस कर्मचारी संघ र कर्मचारी कल्याण कोषद्वारा संयुक्त रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रमा रेडक्रसका स्वयंसेवक र कर्मचारीले रक्तदान गर्नुभएको थियो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, सदस्य, जिल्ला शाखाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, रक्तदाता, रक्तदान आयोजना गर्ने संघसंस्थाहरूका प्रतिनिधि, विभागीय निर्देशक र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।