चन्द्रागिरीलाई निःशुल्क रगत उपलब्ध गराउदै रेडक्रस

काठमाडौं, साउन २५ गते । काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थानीयलाई निःशुल्क रगत उपलब्ध गराउने र रगत आपूर्तिमा सहयोग पु-याउने गरि नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले चन्द्रागिरी नगरबासीलाई गत वर्षदेखि निःशुल्क रगत उपलब्ध गराउने अभियानमा सहयोग पु¥याउँदै आएकोेमा आभार प्रकट गर्नुभयो ।

सो अवसरमा अध्यक्ष नेपालले जनसाधारणलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने र यसको संवेदनशिलताका बारेमा जनसाधारणलाई बुझाउने कार्यमा स्थानीय पालिकाहरूसँग सहकार्य गरी समन्वयात्मक रूपमा अगाडि बढ्न नेपाल रेडक्रस सदैव आतुर रहेको बताउनुभयो ।

चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले रगत अत्यन्त आवश्यक भई भौतारिएर सर्वसाधारणले दुःख पाइरहेको अवस्थालाई ध्यानमा राखी पालिकाले नेपाल रेडक्रससँग सहकार्य गरी गत वर्षदेखि नगरवासीहरूलाई निःशुुल्क रगत उपलब्ध गराइरहेको बताउनुभयो । असाहय, अशक्त, कमजोर अवस्थाका जोसुकै विरामीहरूलाई पनि निःशुल्क रगत उपलब्ध गराउन कोषको व्यवस्थापन गरी सहयोग पु¥याइने नगरप्रमुख गिरीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सम्झौता पत्रको विवरण प्रस्तुत गर्दै रगत, रक्ततत्व आवश्यक पर्दा स्टकमा उपलब्ध भएको आधारमा प्राथमिकता दिई केन्द्रीय रक्तसञ्चार सेवा, भक्तपुर र ललितपुर रक्तसञ्चार सेवाले चन्द्रगिरी नगरपालिकाका वासिन्दालाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्ने बताउनुभयो ।

सो कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी काठमाडौं र भक्तपुर जिल्ला शाखाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक, कार्यक्रम प्रमुखहरू र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी रामेछाप जिल्लाको उमाकुण्ड, खाँडादेवी र लिखुतामाकोशी गाउँपालिका र कान्ति बालअस्पतालसँग पनि निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्बन्धमा पनि नेपाल रेडक्रस सोसाइटी बीच हालै सम्झौता सम्पन्न भएको छ ।