खहरे खोला उत्खनन गर्न महानगरको टोली डोजर लिएर कपन पुगेपछि…

काठमाडौं, साउन २६ गते । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला उत्खनन गर्ने तयारीका साथ डोजर लिएर महानगरटोली त्यहाँ प्रस्थान भएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चावहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।

‘हामी सबै तयारी गरेर कपनमा आएका छौं, वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौं, डोजर चल्ने सम्भावना रहेको छ,’ पाण्डेले बताउनुभयो ।

तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह (बालेन)सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।

‘आज नापी विभाग गएर नक्सा हेर्न भन्ने कुरा थियो, तर काठमाडौंको मेयर आउनु भएको छैन,’ अधिकारीले भन्नुभयो ।

खहरे खोलाको अधिकांश स्थान पर्ने बुढानिलकण्ठ नगरपालिका १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिका वार्तबाट भागेको बताउनुभयो ।

‘मेयर बालेन, छलफल र वार्ताबाट भाग्ने, डोजर लगाएर स्थानीय तर्साउन खोज्ने मात्रै गरेर हुँदैन,’ उहाँले भन्नुभयो । नापी विभागबाट नापजाँच विना भत्काउन नमिल्ने तर्क भट्टराईको छ ।